दाङ उपनिर्वाचन २०७६ : पुरुषभन्दा महिला मतदाता बढी

Posted on: 27 Nov, 2019

मङ्सिर ११, तुलसीपुर । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । 

पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष मतदाता छन् । शान्तिनगर गाउँपालिकामा नौ हजार २८३ महिला र आठ हजार ८२० पुरुष मतदाता छन् । बबई गाउँपालिकामा नौ हजार ५११ महिला र नौ हजार ३३८ पुरुष मतदाता रहेको कुँवरले बताउनुभयो । 

यस्तै तुलसीपुर उपमहानगरपालिका–१, २, १० र ११ मा आठ हजार १६५ महिला, सात हजार ९०५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन् । घोराही उपमहानगरपालिका–१६ मा दुई हजार ३६५ महिला र दुई हजार ८८ महिला मतदाता छन् ।  

चुनावलाई मर्यादित बनाउन विप्लव समूहलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । उहाँका अनुसार विप्लव समूह घोषितरूपमै निर्वाचन भड्काउनका लागि सक्रिय भएकाले निगरानी बढाइएको हो । यहाँ छ अति संवेदनशील र २६ संवेदनशील मतदानस्थल रहेका छन् ।  

तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गर्नुभयो । 

नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उहाँले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न आग्रह गर्नुभयो ।

जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सदैव लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले भविष्य कोर्ने जिम्मेवारी अब नेकपाका उम्मेदवार विमला वलीको काँधमा आएको बताउनुभयो । सो अवसरमा नेकपा प्रदेश  ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!