दाङका १० नाकामा सुरक्षाचौकी

Posted on: 02 May, 2020

वैशाख २०, दाङ | दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको  प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उहाँले भन्नुभयो । 

मुलुकमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो । यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो । हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताउनुभयो । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।  

‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उहाँले भन्नुभयो । अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने  अपेक्षा गरिएको छ ।   अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ । जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!