दाङमा अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएका वडाध्यक्षलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगियो

Posted on: 30 Jun, 2020

असार  १६, तुलसीपुर ।अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि आज अपराह्न साढे ४ बजे काठमाडौँ लगिएको हो । 

चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई मध्याह्न १२ बजे वडा कार्यालय नजीकै आक्रमण गरेको प्रहरीले बताएको छ । घटनास्थल नजीकै नेत्रविक्रम चन्द समूहको पर्चासमेत भेटिएको जनाइएको छ । 

दाङमा दश हजार घर फिर्ता

दाङमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ । भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन् । बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो । 

जिल्लामा क्वारेन्टिनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४५६ जना छन् । तुलसीपुर उपमहानगरपालिकामा १७३ र  लमही नगरपालिकामा ४४  तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२बाँकी छन् । 

दाङमा अहिलेसम्म जाँच गरिएकामध्ये आठ हजार ९५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ । अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पिसिआर जाँच गरिएको तथा तीन हजार २९३ जनाको आरडिटी गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!