बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

Posted on: 22 Aug, 2020

भदौ ६, रुपन्देही | गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उहाँको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए ।

बिहान करीब ९:३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । “अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । भोलि कोरोना परीक्षण गर्छौँ  त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ”, उहाँले भन्नुभयो । उहाँकाअनुसार यो सँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो ।

गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुग्नुभएकी उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा  नेपालगञ्ज जान सुझाएका थिए । पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।  गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै हुनुहुन्छ । 

सङ्क्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले नीजि साधनमा नेपालगञ्ज पुर्याएका थिए । नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिएपछि गर्भवती तथा उहाँका आफन्त तनावमा पर्नुभएको थियो । कोरोना फैलिएको करीब ५ महिनासम्म पनि पोजेटिभ बिरामीको शल्यक्रियाका लागि यस क्षेत्रमा व्यवस्थापन भएको छैन । लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरे जनाएको छ ।

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ ।

नेपालको संविधानको धारा ३८ को (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । उपधारा ३ मा महिलालाई शिक्षा, स्वाथ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । साथै महामारीको बेला यौन तथा प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने नेपाल सरकारले प्रतिबद्धता व्यवहारमा कार्यान्वय भएको छैन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!