जखेरा तालमा पर्यटकको घुइँचो

Posted on: 27 Sep, 2018

असोज ११, लमही | लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । 

ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीका अनुसार पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । तालको प्रचारप्रसार व्यापक भएकाले पनि पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । तालको प्राकृतिक सुन्दरता, पहाडैपहाडको बीचमा बनेको तालको दृश्यावलोकनका लागि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन् । अहिले दाङसहित प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् । 

लमही नगरपालिका–३ मा रहेको उक्त ताल जिल्लाकै प्रसिद्ध पर्यटकीय स्थल हो । सात बिघा क्षेत्रफलमा फैलिएको सो तालमा अहिले गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ । तालको किनारमा मन्दिरबीचमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा अनि चराचुरुङ्गीको आवाजले पर्यटकलाई थप आकर्षण गर्ने गरेको छ । 

यहाँ विभिन्न ठाउँबाट वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । तालमा माछापालन शुरु गरिएको छ । माछापालन नै आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्याय बताउनुहुन्छ । “यहाँ ताल व्यवस्थापनको अभाव खट्किन थालेको छ,” उहाँले भन्नुभयो । झारपातका कारण तालको सौन्दर्यमा कमी आएको छ । “एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सक्दैन,” उपाध्यायले भन्नुभयो, “पालो पर्खिनुपर्ने अवस्था छ ।” तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा बाह्य पर्यटक पनि भित्र्याउन सकिन्छ । 

जखेरा तालको संरक्षणका लागि रु २० लाख विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । जखेरा तालको विकासका लागि बनाएको गुरुयोजनाअनुसार काम अगाडी बढिरहेको केसी बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!