दार्चुलामा अज्ञात रोगका कारण पठनपाठनमा समस्या

Posted on: 09 Jun, 2018

जेठ २६, दार्चुला ।  दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ । 

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो । 

ञछात्रा बेहोस हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५–२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधा एक घण्टापछि मात्रै होसमा आउने गरेको जनाइएको छ । 

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हाम फाल्न खोज्नेलगायतका क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताउनुभयो । यता डाक्टरले उक्त रोगलाई मास हिष्टेरिया बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!