दार्चुलामा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक, के-के सहमति भए ?

Posted on: 12 Jul, 2018

असार २८, दार्चुला | सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् । 

खलंगामा आज भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुई देशका सुरक्षा अधिकारीबीच उक्त विषयमा सहमत भएको बैठकपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । 

बैठकमा सीमा क्षेत्रमा हुने मानव बेचबिखनका घटनालाई न्य्ूनीकरण गर्ने विषयमा पनि सहमति भएको उहाँले बताउनुभयो । 

विपद्का बेला दुई देशका सुरक्षाकर्मी मिलेर खोज तथा उद्धार गर्ने बारेमा समेत दुबै देशका सुरक्षा अधिकारीबीच सहमति भएको प्रजिअ आचार्यको भनाइ छ । 

दार्चुला जिल्ला त्रिदेशीय रुपले खुल्ला सीमा नाका भएकाले सीमा नाकामा हुन सक्ने अवैध वन्यजन्तुका अंग चोरी तस्करी नियन्त्रण, काठ तस्करी नियन्त्रण, मानव बेचबिखनको न्यूनीकरण गर्ने विषयमा बैठकमा सहमती भएको उहाँले बताउनुभयो । 

त्यस्तै नेपालको बंगाबगड पारी भारतको खोलीलाबाट महाकालीमा खसेको पहिरोलाई तत्काल हटाउने, महाकाली नदीमा बनाइएको झोलुङ्गे पुल खुल्ने र बन्द हुने समयका विषयमा परिस्थितिअनुसार खुलाउने तथा बन्द गर्ने बारेमा सहमति भएको प्रजिअ आचार्यले बताउनुभयो । 

बैठकमा नेपालको तर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा एजेण्डा प्रस्तुत भएको थियो । 

नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र भारतका तर्फवाट सिमावर्ती भारतीय जिल्ला पिथौरागढका अधिकारी सि रविशंकरले नेतृत्व गर्नुभएको थियो । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको पनि सहभागिता थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!