दार्चुला उद्योग वाणिज्य संघको सातौ अधिवेशनबाट ठगुन्ना निर्विरोध अध्यक्ष,

Posted on: 01 Apr, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत १८,  दार्चुला । दार्चुला उद्योग वाणिज्य संघको सातौ अधिवेशनबाट मंगलसिह ठगुन्ना अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उद्योग वाणिज्य संघ दार्चुलाको सातौ अधिवेशनमा अध्यक्ष पदमा कसैको उम्मेदवारी नपरेपछि तेस्रो कार्यकालमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार उद्योग वाणिज्य संघ दार्चुलाको बार्षिक साधारण सभा शुरु भएको हो । २०५८ सालदेखि उद्योग वाणिज्य संघ भित्र प्रवेश गरेका ठगुन्नाले निर्विरोध निर्वाचित भएसँगै तेस्रो पटक उद्योग वाणिज्य संघको जिम्मेवारी सम्हालने अवसर पाएका छन् । यसअघि ठगुन्ना २०५८ सालमा उद्योग वाणिज्य संघको सल्लाहकार सदस्य, २०६० सालमा उपमहासचिव पदमा निर्वाचित भएका थिए । यस्तै ठगुन्नाले २०६४ सालमा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमाले निकट रहेका व्यवसायी ठगुन्नाले विद्रोही गरि एमालेका आधिकारीक उम्मेदवार सुरेशसिह थापालाई पराजीत गरी अध्यक्षमा विजयी भएका थिए ।

त्यसपछि ठगुन्नाले दोस्रो कार्यकाल पनि अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षको दोस्रो कार्यकालकै समयमा २०७० सालमा ठगुन्ना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भए । भने २०६७ सालमा क्षेत्रीय उद्योग वाणिज्य संघको क्षेत्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लामा व्यापारीको हकहितमा काम गर्ने भनेर चिनिएका ठगुन्नाले यस पटक फेरि सर्वसम्मतबाट अध्यक्षमा विजयी भएका छन् ।

आइतबार भएको उम्मेदवारी मनोनयनको क्रममा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध अध्यक्ष भएको निर्वाचन मण्डलका संयोजक एवं अधिवक्ता धिरेन्द्रसिह साउँदले बताउनुभयो । उद्योग वाणिज्य संघको महासचिव पद बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा निर्वतमान महासचिव विशनसिह बोहरा र सचिव मिलनराज अवस्थीले उम्मेदवारी दर्ता गराएका छन् । महासचिव बोहरा यसअघि दुइ कार्यकाल महासचिव बसेका हुन् भने मिलनराज अवस्थी सचिव हुँदै महासचिवमा उम्मेदवारी दिएका हुन् ।


तीन वटै पार्टी निकट व्यापारीहरुबाट सर्वसम्मतको प्रयास गरेपनि बोहराले चुनाव लड्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् । तीन दलको संयुक्त प्यानलमा बोहरा नपरेपछि महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मदनसिह बुढाथोकी, वाणिज्य उपाध्यक्ष इन्द्रदेव पन्त, उद्योग उपाध्यक्ष केशवबहादुर पाल, सचिव सर्पराज बडु, कोषाध्यक्ष हंशराम कुवर, र सह कोषाध्यक्ष गीता ठगुन्ना निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा कमलसिह धामी, भुवनसिह धामी, मंगलसिह ठगुन्ना, रतनसिह खाती, हरकसिह बडाल, इन्द्रसिह ठगुन्ना, बीरेन्द्रसिह धामी, दिलेन्द्रराज अवस्थी र राजेश नेपाली चयन भएका छन् ।

उद्योग वाणिज्य संघ दार्चुलाको अधिवेशनको लागि ११ सय ४० जना व्यवसायीले सदस्यता नविकरण गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!