दार्चुला प्रदेश नम्बर ७ को ८ औं खुला दिसामुक्त जिल्ला घोषणा हुँदै

Posted on: 07 May, 2018

लोकेन्द्र जोशी | वैशाख २४, दार्चुला । दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा मंगलबार  खुला दिसामुक्त जिल्ला घोषणा हुँदैछ । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले खुलादिसामुक्त घोषणाको तयारी पूरा गरेको छ । दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने उद्घोषका साथ दार्चुलालाई सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नेछन् । प्रदेश सरकार गठन भइसकेपछि पहिलो पटक मुख्यमन्त्री भट्टले दार्चुलालाई खुलादिसामुक्त भएको घोषणागर्ने भएका हुन् । सात नम्बर प्रदेशको कैलाली खुला दिसामुक्त जिल्ला घोषणा हुन बाकी छ ।


दार्चुलाका कुल २४ हजार ६ सय १८ घरधुरी मध्ये १८२ घुरधुरीले साझेदारीमा शौचालय निर्माण गरेका छन् भने बजार क्षेत्रमा ७ शौचालय निर्माण गरिएका छन् भने बाकी विद्यालय र मन्दिर र घरहरुमा गरी कुल २४ हजार ४ सय ५९ बढि शौचालय निर्माण गरिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । दार्चुलालाई खुला दिसामुक्त घोषणासम्म पुर्याउन जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थाले ठूलो लगानी गरेका छन् । सदरमुकाम खलंगामा हुने खुलादिसामुक्त घोषणा सभाको लागि आवश्यक तयारी अन्तिमर चरणमा पुर्याइएको छ । जिल्ला खुलादिसामुक्त क्षेत्र घोषणा मूल समारोह समितिले घोषणा सभाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

घोषणा सभाको लागि दार्चुलाको गोकुलेश्वरदेखि नै स्वागत प्रवेश द्धार निर्माणदेखि लिएर सदरमुकाम खलंगा झकिझकाउ गरिएको छ । कार्यक्रममा राष्ट्यि कलाकारलाई आमन्त्रण गरिएको छ, सव डिभिजन प्रमुख रावलले भन्नुभयो, अन्य जिल्लाको घोषणा सभाभन्दा फरक तवरले दार्चुला खुला दिसामुक्त घोषणा हुनेछ । कार्यक्रममा राष्ट्यि कलाकार भोजराज भट्ट, सुरेश शाही, पुष्पा बोहरा, गौरी भट्ट, दीपा रोकाया र रेखा जोशी दार्चुला पुगेका छन् । खुलादिसामुक्त घोषणा सभाको सञ्चालन नै सात नम्बर प्रदेशका बरिष्ठ कलाकार भोजराज भट्टले गर्नुहुनेछ । यसको साथै कार्यक्रममा स्थानीय संस्कृति झल्कने गरी झाकी तथा र्याली, प्रदर्शनी, व्यासी सौका समाजको झाकी, दुहुको सरौ नाँच, लेकमको छलिया नाँच प्रस्तुती गरिनेछ । यस्तै हरेक स्थानीय तहबाट स्थानीय तहको संस्कृति प्रस्तुत गर्नेतयारी गरिएको छ । खुला दिसामुक्त घोषणा सभाको लागि सदरमुकाम खलंगाको खुलामुञ्च सजाउन थालिएको छ । बजार क्षेत्र सरसफाई गर्ने तयारी गरिएको छ । खुलादिसामुक्त समारोहमा सहभागि हुन मुख्य मन्त्री त्रिलोचन भट्ट, प्रदेश उपसभामुख निर्मला जोशी, दार्चुलाबाट प्रदेश सभामा निर्वाचित सांसदहरु लगायत सोमबार खलंगा पुग्ने कार्यक्रम रहेको छ । 

यसैबीच जिल्ला खुलादिसामुक्त मूल समारोह समितिले सोमबार सदरमुकाम खलंगाको खुलामञ्चको सरसफाई गरेको छ । मंगलबार जिल्लालाई प्रदेश नम्बर ७ को ८ औ तथा राष्ट्कै ५२ औं खुलादिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम छ । खुलामञ्चमा रहेको फोहोर हटाइएको छ । जिल्ला समन्व्य समिति प्रमुख करबीरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य लगायतको सहभागितामा खुलामञ्च सरसफाइ गरिएको छ । कार्यक्रम स्थलको तयारी गर्ने उद्देश्यले सरसफाई अभियान थालिएको हो, खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले भन्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!