खाल्डोमा परेर मृत्यु भएकी बालिकाको परिवारले दश लाख क्षतिपूर्ति पाए

Posted on: 23 Jul, 2017

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको परिवारलाई चाइनीज गेजुवा गु्रपले दश लाख रुपैयाँ क्षतिपूर्ति बाफत सहयोग हस्तान्तरण गरेको छ । 

शनिबार दिउँसो बजारबाट घर फर्किने क्रममा बालिका पानीले भरिएको खाल्डोमा परेर मृत्यु भएको थियो । चमेलिया जलविद्युत आयोजनामा आइतबार बसेको पीडित परिवार जनप्रतिनिधि र निर्माण कम्पनी गेजुवा गु्रप साथै आयोजना बीच भएको छलफलपछि दश लाख रुपैयाँ क्षतिपूर्ति बाफत दिने सहमति भएको हो ।

आयोजनाका सहायक प्रबन्धक पुष्पराज जोशी, चाइनीज गेजुवा ग्रुपका सेफ्टी इन्जिनियर ल्यू, वडा नम्बर १ का अध्यक्ष भरतबहादुर खडायत र पीडितका तर्फबाट मृतक बालिकाका बुवा हर्कबहादुर खडायत बीच भएको छलफलमा दश लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । गेजुवा गु्रपले कमजोरी भएको भन्दै नगद रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको छ ।

साथै आयोजनास्थल वरिपरी खनिएका खाल्डा खुल्डीहरु तत्काल भरान गर्ने सम्झौता भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!