दार्चुलामा परिवार नियोजनको साधन प्रयोगकर्ता बढ्दै

Posted on: 18 Sep, 2017

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । दार्चुला जिल्लामा विगत बर्षहरुको तुलनामा विवाहित परिवार नियोजन साधन प्रयोगकर्ता बढेका छन् । 

आर्थिक वर्ष ०७२।०७३ को तुलनामा आर्थिक वर्ष ०७३।०७४ मा झण्डै ११ प्रतिशत प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले चौथो परिवार नियोजन दिवसको अवसरमा सो तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार आर्थिक वर्ष ०७२।०७३ मा २७ दशमलव ७२ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७३।०७४ मा बढेर ३८  दशमलव ७० प्रतिशत पुगेको छ ।

यस वर्ष व्यवस्थित परिवार स्वस्थ्य र विकासको आधार भन्ने मूल नाराका साथ जिल्लाका ९ वटै स्थानीय तहमा मनाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका योगेन्द्र ओझाले जानकारी दिनुभयो । 

यस्तै जिल्लामा परिवार नियमित रुपमा नियोजनको अस्थायी साधन इन्पलान्ट राख्नेको संख्या २८ सय १४ पुगेको छ । डिपो प्रयोगकर्ता २२ सय ४१ जना, पिल्स प्रयोगकर्ता ८ सय ८६ जना, स्थायी बन्ध्याकरण प्रयोगकर्ता ३३ सय १० जना र कण्डम प्रयोगकर्ता २२ सय ५४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पछिल्लो समय इन्पलान्ट राख्नेको संख्या ह्वात्तै बढेको छ । एक पटक राखेपछि पाँच वर्षसम्म राख्न नपर्ने भएको कारण संख्या बढेको ओझाले बताउनुभयो । जिल्लाभरी ४० स्वास्थ्य चौकी, २ वटा अस्पताल, ७ वटा सामुदायिक एकाइ केन्द्र र २ वटा शहरी स्वास्थ्य एकाईबाट परिवार नियोजनका साधन वितरण हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!