चमेलियामा स्थानियले तीनदिनदेखी गरेको अनशन १२ बुद्धे सहमति गर्दै स्थगित

Posted on: 03 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | फागुन १९, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका स्थानीयले चमेलिया जलविद्युत् आयोजनाले आफ्ना माग पूरा नगरेको भन्दै बिहीबारदेखि थालेको अनशन आयोजनासंग १२ बुदे सहमति गर्दै शनिबार स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको उपस्थितिमा आयोजना र स्थानीय बीच शनिबार भएको छलफलपछि अनशन स्थगित भएको हो ।

११ वर्षअघि बनाउन थालिएको चमेलिया जलविद्युत् आयोजनाको नियमित विद्युत् उत्पादन सुरु भए पनि माग पूरा नभएको भन्दै स्थानीयले आमरण अनशन थालेका थिए । उनीहरूले गत ११ फागुनमा आयोजनासमक्ष आयोजनाका कारण पानीको मुहान सुकेको भन्दै स्थायी समाधान गर्नुपर्ने, सिँचाइको व्यवस्था गरिदिनुपर्ने, रोजगारीको व्यवस्था गर्नुपर्नेसहित नौबुँदे माग पेस गरेका थिए । जसअनुसार स्थानीयले पहिलो प्राथमिकताका साथ उठाएको खानेपानी समस्या समाधानको लागि सात दिन भित्र प्रक्रिया थालनी गर्ने आयोजनासंग सहमति भएको छ । स्थानीयको खानेपानीको स्थायी समाधानको लागि सात दिन भित्र ठेक्का प्रक्रिया शुरु गर्ने तथा कामको शुरुवात आयोजना र सम्बन्धीत उपभोक्ता समितिको सहमितिमा अघि बढ्ने सहमति भएको संघर्ष समितिका सचिव सुरेन्द्र बहादुर तितराले जानकारी दिनुभयो ।


यसैगरी बारिलको सडक निर्माण कार्य शुरु गर्ने, विटुलेसम्मको मोटर बाटो निर्माणका लागि सर्भे कार्य अघि बढाउने, तथा उक्त क्षेत्रमा पर्ने संरचनाहरुको क्षतिपूर्ति तथा बालीनाली र बोट विरुवा फलफुलको क्षतिपूर्ति दिने सहमति भएको छ । यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर र प्रभावित क्षेत्रमा २०७५ असार मसान्तसम्म विद्युतीकरणको कार्य सक्ने सहमति भएको छ ।

आयोजना प्रभावित क्षेत्रका उपभोक्ता र आयोजनाबीच समय समयमा भएका सम्झौता कार्यान्वयनको लागि आयोजना प्रमुखको अध्क्षतामा वडा नम्बर १ का जनप्रतिनिधि, रानीतिक दलसहितको समितिले फाल्गुन भित्र समिति गठन गरी पूर्व सम्झौता तथा आयोजना निर्माणका क्रममा भएको संरचनाको अध्ययन गरी एक महिना भित्र काम सुचारु गर्ने सहमति भएको छ । बारिलको आधारभूत विद्यालयको ४ कोठे भवन छ महिना भित्र आयोजनाद्धारा निर्माण कार्य सम्पन्न गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई पठाउने सहमति भएको छ ।

यसैगरी दार्चुला र बैतडी जिल्लालाई एक महिना भित्र लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्ने सहमति भएको सचिव तितराले बताउनुभयो । आयोजना प्रभावित क्षत्रमा नदी कटान गरेको जमिनको संरक्षण गर्न आयोजनाले तारजालीको व्यवस्था गर्ने तथा बाधस्थदेखि टेलरेसम्म १० प्रतिशत पानी छाड्ने व्यवस्था मिलाइनेछ । आयोजनालाई आवश्यक पर्ने जनशक्ति नियुक्त गर्दा प्रभावित क्षेत्रका नागरिकलाई प्राथमिकता दिइने छ । यस्तै आयोजनाको प्रभावित क्षेत्रका नागरिकलाई निशुल्क विद्युत उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण सँग पत्रचार गर्ने सहमति भएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अध्यक्ष भरत बहादुर खडायतले जानकारी दिनुभयो ।

यसैगरी प्रभावित क्षेत्रमा वातावरण सुधारका लागि आयोजनाबाट ५० हजार फलफुल तथा अन्य प्रकारका बोटहरु जेठ महिना भित्र उपलब्ध गराउने सहमति गरिएको छ । स्थानियले उठाएका प्रमुख मागहरु पुरागर्न आयोजनाले सहमति जनाएपछि खानेपानी मूल संघर्ष समिति बारिलका अध्यक्ष शंकर खडायत, सचिव सुरेन्द्रबहादुर तितरा र सल्लाहकार समिति सदस्य प्रमानन्द तितराले शुरु गरेको अनशन पनि स्थगित गरेका छन् । गत २७ माघमा चमेलियाको औपचारिक उद्घाटन भएपनि प्रभावित क्षेत्रका नागरिकको समस्या समाधानमा आयोजना सकारात्मक नभएको भन्दै तीन दिन देखि उनीहरुले अनशन थालेका थिए ।

सहमति पत्रमा आयोजनाको तर्फबाट उपप्रबन्धक पुष्पराज जोशी, बरिष्ठ सहायक लालबहादुर शाही र सुपरभाइजर तेजबहादुर वमले हस्ताक्षर गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!