दार्चुलामा पहिचान र अधिकारका लागि यसरी मनाइयो आदिवासी जनजाति दिवस

Posted on: 09 Aug, 2018

लोकेन्द्र प्रसाद जोशी | साउन २४, दार्चुला । बिहिबार विश्व आदिवासी जनजाति दिवस ब्यासी सौकाजातीले दार्चुला जिल्लामा भब्यताकासाथ मनाएका छन । ब्यासी सौका समाजको आयोजनामा दार्चुला लगायत देशभरीकै आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरेर दिवन मनाएका हुन । आदिवासी जनजातिको बसाईसराइ बन्द गरीनुपर्ने उनिहरुको माग छ । ’अधिकार प्रतिनिधित्व स्वायत्तता÷स्वशासनकालागि आदिवासी जनजातिको अडान, मानब पहिचान सहितको संघियताकालागी संबिधान संशोधन हाम्रो साझा अभियान’ भन्ने आदर्शकासाथ उनिहरुले दार्चुला जिल्लामा समेत २४ औ विश्व आदिवासी जनजाति दिवस मनाएका हुन ।

विश्वभरका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा मनाइदै आएको दिवस दार्चुलामा समेत ब्यासी सौका समुदायले भब्यताकासाथ मनाएका छन । दिवसको अवसरमा जिल्ला सदरमुकामस्थित बजार क्षेत्रमा आदिवासी जनजातीहरुको अधिकारकालागी नारा जुलुससहित र्यालीको आयोजना गरेर दार्चुला बिकास संगठनको हलमा औपचारीक कार्यक्रमको आयोजना गरेका थिए । आफ्नै मौलीक भाषा, भेषभुषा र संस्कृति झल्कीने गरी सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेका हुन । कार्यक्रममा भारतको धारचुलाबाट समेत ब्यासीहरु दार्चुला आएका थिए ।


संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै संबिधान संसोधन गरेर अधिकार र पहिचान स्थापित गरीनुपर्ने ब्यासी सौका समुदायका अध्यक्ष यसोदा तिकंरीको भनाइ छ । २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा ब्यासी सौका समाजका अगुवाहरुले अधिकार स्थापित गर्नका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो । ‘आदिवासी जनजातिलाई राज्यले अझै हेपिरहेको अवस्था छ, तर राजनीतिले गर्दा आदिवासी जनजातिहरु जातीय रुपमा विभाजित हुँदा आदिवासी समुदायको माग ठोस रुपमा उठ्न नसकेको उनिहरुको बुझाइ छ ।


दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गर्ने दार्चुलाका व्यासीहरुको तीन वडाका चार ठाउँमा बसोबास रहेको छ । व्यासी सौकाहरुको धर्म, संस्कृति, परम्परा र भाषाको संरक्षण गर्ने उद्देश्यले संगठित भएका व्यासीहरु दार्चुलाको सितोला, राप्ला, छांगरु र तिंकरमा बसोबास रहेको छ । ३६९ घरधुरी रहेको व्यासीको कुल जनसंख्या २ हजार १ सय ६९ रहेको छ । आफ्नै मौलिकता, ऐतिहासिक सांस्कृतिक पृष्ठभूमी रहेका व्यासीहरु अल्पसंख्यक जातीको रुपमा सूचिकृत छन् । उनीहरु आफुलाई (रं) अर्थात सौका समुदायका भनेर चिनाउने  गरेका छन् ।


नेपाल र भारतमा बसोबास गर्ने व्यासीहरुको रहनसहन र भेषभुषा एउटै हो । विवाहवारी नेपाल भारत दुवै क्षेत्रमा गर्ने गरेका छन् । भारतमा बस्ने रं समुदाय बढि छन् । समुद्री सतहबाट १२ हजार फिट उचाईमा बसोबास रहेका व्यासको छांगरु र तिंकरका स्थानीय छ महिना व्यास र छ महिना खलंगा (कुञ्चा) अर्थात बसाइ सराइ गर्ने गर्छन् । वर्षमा एक मात्रै खेती हुने व्यासका स्थानीयको प्रमुख पेशा व्यापार हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!