प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on: 28 Sep, 2018

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले भने बैठकसमेत बहिस्कार गरेका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालको १४ सांसदले मत नहालेपनि पक्षमा ३८ मत पर्दा २ तिहाईले प्रदेश ७ को नाम 'सुदूरपश्चिम' पारित गर्यो ।

त्यस्तै प्रदेशसभा बैठकले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ ।

यस संगै नाम र राजधानीको नाम टुंगो लगाउने प्रदेशमा सुदूरपश्चिम तेस्रो प्रदेश बनेको छ । अब ४ प्रदेशको नाम राख्न बाँकी छ । यस अघि नै गण्डकी र कर्णाली प्रदेश नाम राखिएका छन् । 

प्रदेशसभाले प्रदेशको नाम र राजधानी चयन गर्नका लागि नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । उक्त समितिले केही दिनअघिमात्र प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदन अनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!