निगालोका सामग्रीको व्यापार बढ्दो

Posted on: 09 Mar, 2019

नरेन्द्रसिह कार्की | फागुन २५, दार्चुला | शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ । 

वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोवार बढेको हो । गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार भइरहेको छ  । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राखिएका छन् । 

यस वर्ष मेलामा निगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, छाप्राको कारोवार सबैभन्दा बढी भइरहेको मार्मा गाउँपालिका–१ दह घोल्जरका स्थानीय व्यापारी सुरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । विगतमा यति धेरै बिक्री भएको थिएन, उहाँले भन्नुभयो, “यो वर्ष सोचेअनुसारको सामग्री बिक्री भइरहेको छ ।” 

मेलामा मार्माको दह घोल्जरका साथै शैल्यशिखर नगरपालिका–४ रानीशिखर र नौगाडको सिप्टीलगायतका क्षेत्रबाट निगालोको सामान बिक्रीको लागि ल्याइएको छ । मेलामा मोट्टा रु एक हजार ५०० देखि चार हजारमा बिक्री भइरहेको छ । 

यस्तै सुप्पा तथा छाप्राको रु २०० देखि ४०० सम्म कारोवार भइरहेको व्यापारी उमेश धामीले बताउनुभयो । दह घोल्जरका मात्रै १०० परिवारले प्रतिपरिवार १० देखि १५ हजारसम्म निगालोका सामग्री बनाएर बिक्रीको लागि ल्याएका छन् । 

जिल्लाको अन्य क्षेत्रभन्दा पनि मार्मा गाउँपालिका–१ दह क्षेत्रमा सबैभन्दा बढी निगालो उत्पादन हुने गरेको छ । निगालो बढी उत्पादन भएकै कारण यहाँका स्थानीयले बढी जसो निगालोबाट उत्पादन हुने सामग्री बनाएर बिक्री गर्छन् । निगालोका सामग्री निर्माणमा मेहनत धेरै लाग्ने भए पनि मेहनतअनुसारको ज्याला नपाइने उनीहरु बताउँछन् । जङ्गलमा गएर निगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केही दिनपछि पानीबाट निकालेर चोया निकालेर सामग्री बुन्ने गरिन्छ । 

कच्चा पदार्थ तयार भइसकेको अवस्थामा एक दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिने उद्यमी सुरज धामी बताउनुहुन्छ । कच्चा पदार्थ उपलब्धता भयो भने सामान बनाउन खासै समस्या नभएको उहाँले बताउनुभयो । विगतमा सबै ठाउँमा सजिलै कच्चा पदार्थ उपलब्धता हुने गरेपनि अहिलेभने कम हुँदै गएको छ । 

मार्माको दह घोल्जरका स्थानीयको रोजगारी र आयआर्जनको प्रमुख तथा एक मात्र माध्यम निगालोबाट बन्ने सामग्री नै हो । वर्षभरिमा हजाराँै सामग्री निर्माण गरेर उद्यमीले गोकुलेश्वर मेलामा बिक्री गर्छन् । व्यापारी सामग्री किन्न गाउँमै पनि जान्छन् । गाउँमा बिक्री हुन नसकेको सामान मात्रै मेलामा ल्याएर बिक्री गर्ने गरेको अर्का स्थानीय जगत ठगुन्ना सुनाउनुहुन्छ । 

मेलामा ऊनी कपडा, हिमाली क्षेत्रको जडीबुटी र फलफूलका परिकारलगायत विभिन्न सामग्रीको कारोवार पनि यो वर्ष बढेको छ । गोकुलेश्वरमा व्यापारको लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट व्यापारी तथा ग्राहक आएका छन् । स्थानीय उत्पादनको बिक्री वितरणले स्थानीयस्तरमै स्वरोजगारी सिर्जना मात्रै भएको छैन, खेर गइराखेका वस्तुको उत्पादनको उपयोग र आर्थिक उपार्जनको बलियो आधारसमेत बनेको छ । 

गोकुलेश्वरस्थित हवाई मैदानमा मेला एक हप्ता चल्छ । तिब्बती ऊनी कपडा र हस्तकलाका सामग्री पनि बिक्रीमा राखिएका छन् । दार्चुलाको हिमाली क्षेत्रका बासिन्दाले जडीबुटी, राडी, फाखी, कम्बल, स्विटरलगायतका सामान बिक्री गरिरहेका छन् । 

डडेल्धुराको जोगबुडालगायत भित्री मधेशमा बनेका ठेकी, हलोलगायतका सामग्रीको पनि राम्रो व्यापार भएको छ । ऊनीका तानमा बुनेका राडीपाखी, गलैँचालगायत अन्य वस्तु मेलाका मुख्य आकर्षक रहेको व्यापारी भुवन धामीले बताउनुभयो । प्रविधिको विकाससँगै तालीमको अभावका कारण पनि अझै सीपलाई परस्कृत गर्न नसकिएको उद्यमी प्रेम टमटा बताउनुहुन्छ । “हामीलाई तालीमको अभाव छ, अहिले पनि उही हँसियाको सहारामा रेसा निकाल्ने र बुन्ने काम भइरहेको छ”, उहाँ भन्नुहुन्छ । 

घरेलु तथा साना उद्योग विकास समितिले गत वर्ष दुहुँ गाउँपालिकाको हिकिला तथा शैल्यशिखर नगरपालिकाको रानीशिखरमा बुनाई तालीम सञ्चालन गरेको थियो । यस्तै यो वर्ष लेकम गाउँपालिकाको कुणीमा निगालोबाट उत्पादित सामग्रीको तालीम सञ्चालन गर्ने तयारी भइरहेको समितिका वरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठकुराठीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!