अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष बीच सहमति

Posted on: 06 Jul, 2019

असार २१, धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच आज भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिनुभयो । 

प्रदेश सरकारले पेश गरेको आगामी आव २०७६/०७७ को बजेटप्रति प्रतिपक्षीले गरेको असन्तुष्टिका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनमा गतिरोध उत्पन्न भएको थियो ।  

बैठकमा सहभागी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठक सञ्चालनमा देखिएको गतिरोध अन्त्यका लागि प्रतिपक्षीसँग सरकारले गम्भीररुपमा वार्ता गरेकाले आइतबार बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । सहमति के विषयमा भयो भन्नेबारेमा भने उहाँले खुलाउन चाहनुभएन ।  

प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले कार्यकर्तामुखी बजेट ल्याइएको भन्दै गरेको असन्तुष्टिपछि यही असार १ गते ल्याइएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को बजेट, नीति कार्यक्रममाथिको छलफल शुरु हुन सकेको छैन । 

 यसअघि समस्या समाधानका लागि पटकपटक सत्तापक्ष र प्रतिपक्षीबीच भएका वार्ता निष्कर्षविहीन हुँदा बैठक सञ्चालन हुन सकेको थिएन । आज ४ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकको समय पनि दुईपटक सारिएको थियो । अर्को बैठक असार २२ गते बिहान ८ः३० बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । 

बजेटप्रति सत्तापक्षकै कतिपय प्रदेशसभा सदस्य पनि सन्तुष्ट छैनन् । मन्त्रीहरुले आफूखुशी बजेट बाँडफाँट गर्दा समस्या भएको सत्तापक्षीय सदस्यको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!