अपर नौगाडले असोजदेखि विद्युत् उत्पादन गर्ने

Posted on: 08 Sep, 2019

नरेन्द्रसिंह कार्की, भदौ २२, दार्चुला  (रासस) । जिल्लाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले आगामी असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्नेभएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेकाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रो पावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पु¥याएको छ । यसअघि चैत्रभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महिनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिनुभयो ।

रु एक अर्ब ८० करोड लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावाट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युत्को अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ । निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा प्रदेशमा अपि हाइड्रो पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो । 

अहिले विद्युत्को पावरहाउसमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताउनुभयो । पावरहाउसमा चार/चार मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ । भारतबाट पावरहाउसको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति गरेका कारण आयोजनाको लागत र समय थप गरिएको उहाँको भनाइ छ  । गत साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।

नौगाड–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिएको छ । पाइपलाइन (पेनस्टक)को लम्बाई पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यसका लागि नौ किलोमिटर लामो ३३ केभीए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताउनुभयो ।

विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरीकै नमुना योजना बनेको थियो । उहाँका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबीआई बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेडसमेतको लगानीमा निर्माण भएको हो ।

यस्तै ४० मेगावाटको माथिल्लो चमेलीया जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपि पावर कम्पनी लिमिटेडबीच सो क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) यसअघि नै भइसकेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाई कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ । जिल्लाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड लाइन तथा  जडानका लागि भने सम्झौता सम्पन्न भइसकेको अपी हाइड्रो पावर कम्पनीले जनाएको छ । शुरुमा साढे आठ मेघावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडेको अपि हाइड्रो पावरले थप आठ मेघावाट क्षमताको अपर नौगाडको निर्माण अन्तिम चरणमा पु¥याएपछि माथिल्लो चमेलीया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको हो । 

अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । कम्पनीले दशैँपछि निर्माण शुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोडका हिसाबले आयोजनाको कूल लागत रु सात अर्ब २० करोड लाग्ने अनुमान कम्पनीको छ ।

विद्युत् प्राधिकरण आफैँले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै रु ५३ करोड पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास कम्पनीको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!