लिपुलेक सुरक्षाः छाङरुमा बिओपी राख्न टोली त्यसतर्फ प्रस्थान

Posted on: 13 May, 2020

वैशाख ३१, काठमाडौँ | लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो । 

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ । आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पुर्याउने छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो । 

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन । 

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!