जेलरले ४० हजार घुस मागेको अडियो सार्वजनिक

Posted on: 28 Jul, 2020

साउन १३, दार्चुला | जिल्ला कारागार कार्यालय दार्चुलाका जेलर मानबहादुर खडायतले सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी संग जागिर लगाए वाफत ४० हजार घुस मागेको अडियो टेप सार्वजनिक भएको छ । कारागारमा कार्यरत कार्यालय सहयोगी नरेशराज बडू संग प्रमुख जिल्ला अधिकारी लगायत विभागका कर्मचारीहरुलाई दिनुपर्ने भन्दै उक्त रकम मागेको अडियो टेपमा सुन्न सकिन्छ । १४ महिना अघि कार्यालय सहयोगीमा भर्ना गरिएका बडू संग ७ हजार नगद तथा २ हजार बराबरको मदिराको बोतल मागेको खुलेको छ । 

अडियो टेपमा कार्यालय सहयोगीले जेलरलाई सोधेका छन्, कति सम्म दिनु पर्ने हो ? जेलर खडायतले पनि कार्यालय सहयोगी संग तैले मलाई कति दिएको छस भनेर प्रश्न गरेका छन् । कार्यालय सहयोगीले जेलरलाई एक पटकमा ७ हजार तथा अर्को पटकमा २ हजार दिएको छु भनेका छन् । जेलर खडायतले कार्यालय सहयोगी संग अहिले सम्म तैले दिएको ९ हजार भयो, अब जम्मा मिलाएर ४० हजार सम्म पुर्याईदे भनेका छन् । कार्यालय सहयोगीले जेलर खडायतलाई फेरी प्रश्न गरेका छन्, यो रकमको के गर्नु पर्छ भनेर ? जेलर खडायतले प्रतिउत्तरमा भनेका छन्, कार्यालय प्रमुख भनेपछि माग्छन के यार मिलाउनु पर्छ । 

जेलर खडायतले यसअघि अर्का कार्यालय सहयोगी जयदेव सिंह ठगुन्ना संग पनि ८० हजार मागेको खुलेको छ । गत आर्थिक २०७६/०७७ को असारमा सकिएको कार्यालय सहयोगीहरुको करार सम्झौता समेत नथपेको कार्यालय सहयोगी बडूले जानकारी दिनुभयो । जेलर खडायतले कार्यालयमा अभद्र खालको व्यवहार गर्ने गरेको कार्यालय सहयोगी बडूलाई गुनासो छ । काम गरिरहेका बेला आफु लगायत अन्य कर्मचारीहरुबाट आफुमाथी अभद्र व्यवहार गर्न लगाउने कार्यालय सहयोगी बडूले बताउनुभयो । 

  यता जेलर खडायतले कार्यालय सहयोगी संगको अडियो सम्बादमा भएका कुरा निराधार भएको बताउनु भएको छ । उहाले घुमाउरो पारामा पैसा लिएको स्वीकार गरेपनि अरु लेनदेन भएको बताएका छन् । जेलरले कार्यालय सहयोगीबाट रकम लिएको विषयमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई बुझ्दा यो कुरा आफ्नो जानकारीमा आएको तथा सत्य तथ्य छानविन गरी कानुनी कारबाही गरिने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!