दार्चुलामा मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी

Posted on: 01 Sep, 2020

भदौ १६, दार्चुला (रासस) लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता झ्वाम पार्दै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिएको वडा कार्यालयले जनाएको छ । 

जोशीको ०७६ असार २३ गते मृत्यु भएको थियो भने ०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको तथ्याङ्क वडा कार्यालयसँग छ । मृतकका नाममा साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता रकम निकासी गर्दै प्राविधिक बोहराले लिँदै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक बोहराले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि स्थानीयवासीले कानूनी कारवाही हुनुपर्ने मागसहित वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी भुवन जोशीले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापत रु २४ हजार खाएको आरोप प्राविधिक बोहरामाथि लागेको छ । तेस्रो चौमासिकको रकम वितरणको बेला वडा कार्यालयले सूचना जारी गरेको थियो । मृतक जोशी परिवारले सामाजिक सुरक्षा भत्ता लिन आएका थिएनन् । मृतक परिवारले आफूहरुले मरेको मान्छेको रकम नलिने भनेपछि यसअघि सो रकमको बारेमा चासो बढेको थियो ।

ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सार्वजनिक सूचना गर्दा मृतक जोशीको नाममा सामाजिक सुरक्षा भत्ता निकासी भइरहेको देखिएको हो, वडाध्यक्ष दीपेन्द्र बोहराले भन्नुभयो । “तेस्रो चौमासिकमा मान्छे सम्पर्कमा नआएपछि कोलेनिकाबाट रकम फिर्ता गर्न लगाए ।

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको लगत काट्न विर्षिदा रकम हिनामिना भएको देखिन्छ”, वडाध्यक्ष बोहराले भन्नुभयो । कर्मचारी र वडाध्यक्षले स्थानीयवासीसँग माफी मागे पनि कानूनी कारवाही गरिनुपर्ने, भ्रष्टाचारसम्बन्धी मुद्दा लगाइनुपर्ने भन्दै उनीहरुले तालाबन्दी गरेको बताइएको छ । 

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा वडाध्यक्ष बोहरा, वडा सचिव लक्ष्मणराज विष्ट र प्राविधिक हरसिंह बोहरा तीनै जना दोषी देखिएकाले उनीहरुलाई उचित कारवाही हुनुपर्ने माग आफूहरुले राखेको स्थानीयवासीको माग छ । वडा कार्यालयबाट मृत्यु भइसकेका अरु मानिसको नाममा समेत भत्ता हिनामिना भएको हुन सक्ने भन्दै विगत तीन वर्षदेखिको सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको विवरण सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन् ।

वडाध्यक्ष बोहराले कारवाही गर्ने निकाय आफू नभएकाले सम्बन्धित निकायमा उजुरी गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । ”हामीले कमजोरी भयो भनेर माफी मागेका छौँ, कारवाही गर्ने निकायमा म छैन”, उहाँले भन्नुभयो । प्राविधिक बोहराले सामाजिक सुरक्षा भत्ता रकम हिनामिना नभएको दाबी गर्नुभयो ।

“भूलबस सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको सूचीबाट हटाउन नसकिएको हो”, उहाँले भन्नुभयो, “दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता मान्छे नभेटिएर आफूसँग रह्यो, तेस्रो किस्ता पनि आइसकेको थियो । मान्छे को हुन भन्दै सोधी खोजी ग¥यौँ, मान्छेको महेन्द्रनगरमा मृत्यु भएको जानकारी आएपछि रकम फिर्ता ग¥यौँ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!