पहिरोमाथि बनाइएका घरको अनुदान रोकियो

Posted on: 07 Jul, 2018

असार २३, धादिङ | विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम समेत दिए । 

नुबू तामाङले पनि घर निर्माण सकेर तेस्रो किस्ताको लागि प्राविधिकलाई आग्रह गरिरहेका छन् । प्राविधिकले घर हेरेर तेस्रो किस्ताको सिफारिस गर्नुपर्छ । 

उनीहरुको घर हिन्दूङको पहिरोमाथि बनेको हो । पहिरो नजिकै बनाइएको घर प्राविधिकले हेरेर दोस्रो किस्ता सिफारिस गरेका हुन् । 

पहिरोमाथि रहेको ९३ घर अति जोखिममा रहेकोले बस्न नहुने भन्दै हालै सरकारले सो गाउँ स्थानान्तरण गर्नुपर्ने भन्दै गाउँमा जानकारी पठायो । तर गाउँमा २३ घर निर्माण भइसकेका छन् । 

पानी पर्न थालेपछि गाउँवासी गाउँछाडेर अर्को गाउँमा जानुपर्ने भएकोले उच्च जोखिम गाउँका मानिसका लागि अन्यत्र घडेरी लिनका लागि रु दुई लाख दिने घोषणा गरेपछि गाउँवासी कसरी घर निर्माण गर्ने र अर्को स्थानमा पुनः घर निर्माण गर्नु पर्दा कसरी गर्ने भन्ने अन्यौलमा रहेको सामाजिक कार्यकर्ता विजय तामाङले बताउनुभयो । 

सधैँभरि पहिरोको जोखिममा रहेको चपाङचेतका नेत्रबहादुर घलेले दोस्रो किस्ताको रकम लिनुभयो । बस्न अयोग्य भएकाले घलेले सरकारले दिएको रु दुई लाखले पाँचआना जग्गा समेत खरिद गरेका छन् । पहिरोमाथि घर बनेको छ । सरकारले दिने बाँकी अनुदान अब पहिरोमाथि नदिने र नयाँ जग्गामा घर बनाएमात्र दिने भएकोले सरकारले बस्न अयोग्य भने स्थानमा अनुदान समेत रोकेको जिल्ला कार्यान्वयन इकाई प्रमुख जिल्ला इन्जिनियर राजेन्द्र केसीले बताउनुभयो । 

चपाङचेतमा ४० घर रहेकोमा अधिकांशले गाउँमा घर बनाउन पहिलो किस्ताको रकम ल्याएर घर निर्माण गरिरहेका छन् । जिल्लाको १० बस्तीका २७६ घरपरिवार हाल बसिरहेको स्थानमा बस्न नहुने भनि भौगर्भिक इन्जिनियर र भूगर्भसास्त्रीको टोलीले अध्यायन गरी रुबिभ्याली, नेत्रावती र गैगाजमुना गाउँपालिकाका १० बस्ती बस्न अयोग्य भनि प्रमाणित गरेका थिए । 

सरकारले लामो समयपछि जिल्लाको केही बस्तीलाई बस्न नहुने बस्ती भन्दै गाउँलेलाई जानकारी दिएपछि पहिरोमाथि घर बनाउँदै गरेका अलमलमा परेका हुन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!