जनश्रमदान र स्थानीय नागरिकको सहयोगमा अन्नपूर्ण मन्दिर पुनःनिर्माण हुँदै

Posted on: 28 Mar, 2018

चैत १४, धादिङ्ग | धादिङको ज्वालामुखी ५ स्थित खरीमा एतिहासिक अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरिने भएको छ । 

जीर्ण अवस्थामा रहेको उक्त मन्दिर पछिल्लो समय पुजाआजा समेत नभएको अवस्थामा परिणत भएपछि मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । यहाँका स्थानीयवासीको जनश्रमदान र स्थानीय जनताकै आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गरिने भएको छ । 


झन्डै ५ लाख भन्दा बढी रकम संकलन गरि निर्माण गर्न लागिएको उक्त मन्दिर वरीपरीको क्षेत्र वडापालिकाले ग्रावेल गर्ने बिषयमा समेत छलफल हुँदैछ भने मन्दिर निर्माण तथा जगेर्ना गर्न छुट्टै समिति समेत बनाईएको छ । 'सहयोगी हातहरु अघि बढाऔं, भोलीको लागि पुण्य कमाऔं' भन्ने मूल नाराका साथ मन्दिर पुनर्निर्माणको लागि 'अन्नपूर्ण मन्दिर संरक्षण तथा सम्वर्दन समिति' बनाई काम सुरु गरिएको छ । मन्दिर निर्माणको पहिलो चरणमा मन्दिरको कम्पाउण्डको काम सुरु हुँदैछ भने मन्दिर निर्माणको लागि नक्सा निर्माणको काम सम्पन्न भईसकेको छ । 

आगामी दशैंको नवमीसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढेको यस मन्दिर पुनर्निर्माण पछी बर्षेनी मङ्सिरमा बिशेष पुजा लगाउने, यस अघि परेवा तथा कुखुरा बलि चढाउने गरिएकोमा अब परेवा बलि नदीई उडाउने तथा अन्न चढाएर पुजाआजा गर्ने बताइएको छ । 

समितिले यस मन्दिरको अस्तित्व परापुर्व कालदेखिनै रहेको मान्दै यसको संरक्षणमा बिशेष महत्व दिनुपर्ने बताएको छ । हाल जिर्ण अवस्थामा रहेको मन्दिरले पुनर्निर्माण पछी गाउँनै उज्यालो बनाउने भन्दै स्थानीयहरुले सक्दो श्रमदान र आर्थिक सहयोग गर्ने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!