गाउँपालिकाका अध्यक्षको मोटरसाइकल दुर्घटना, सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

Posted on: 26 May, 2017

जेठ १२, धादिङ (मलेखु) | निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । 

गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । 

घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं बाहिनीमा प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरिएको गल्छी गाउँपालिकाका एमाले नेता नरेश खतिवडाले जानकारी दिनुभयो । 

घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । अध्यक्ष श्रेष्ठको करङको हड्डी भाँचिएको र मोटरसाइकल चालक पौडेलको हातको पाता खुस्केको अवस्थामा उद्धार गरिएको थियो । 

श्रेष्ठ गल्छी गाउँपालिका–४ को चिनियाँखर्क, ज्यामिरचौर, कार्कीडाँडाका मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने र मतदाताको सुझाव लिने कार्यक्रममा गाउँ गएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!