बस दुर्घटनामा दुईको मृत्यु

Posted on: 17 Jan, 2017

माघ ४, धादिङ । खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । 

उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँचवर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । सोमबार बेलुका भएको दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएकामा वीर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । 

धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा३ख ८२६३ नंको बस खाल्टेको पतेनी गाउँको फेदीमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम ल्याइएकामा १६ घाइतेलाई थप उपचारका लागि काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको थियो । सामान्य घाइते १० जनाको खाल्टेमै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । 

घटनास्थल सदरमुकामबाट पूर्वतर्फ रहेको १५ किमीको दूरीमा साँघुरो कच्ची सडक भएको ठाउँमा पर्छ । घुम्ती सडक, पुरानो गाडी र रातिको समयमा क्षमताभन्दा धेरै यात्रु राख्नाले दुर्घटना भएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!