मौनता तोड्न महिलालाई आग्रह

Posted on: 08 Mar, 2018

फागुन २४, धादिङ | महिला मौन बसेर आफूमाथि भएको हिंसाले प्रश्रय पाइरहेकाले मौनता तोड्न आग्रह गरिएको छ । 

एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिलामाथि हुने हिंसाविरुद्ध आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विन्दा नेपालीले महिलाले आफूमाथि भएको हिंसाका बारेमा अरुलाई नभनेका कारण थप हिंसा भइरहेकाले हिंसा पीडितले समस्या समाधानका लागि बोल्नुपर्नेमा जोड दिनुभयो । 

हातमुख बाँधिएका र बोक्सी आरोप लगाइएका महिलाको अवस्था अन्त्यका लागि महिला पुरुष साझेदारी आवश्यक रहेको सहभागीले बताउनुभयो । गजुरी गाउँपालिका र सहयात्री समाज नेपालको आयोजनामा सञ्चालित महिलामाथि हुने हिंसाका सामग्रीको प्रदर्शनी र महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिएको थियो । 

सोही अवसरमा नीलकण्ठ नगरपालिका र समाजद्वारा आयोजित कार्यक्रममा रमेश अधिकारीद्वारा लिखित ‘गन्तव्य’ शीर्षक कवितासंग्रहको विमोचन गरियो । बाउन्न कविता रहेको संग्रहमा महिला अधिकारका विषय छन् । त्यहाँ रहेको ‘म बोल्छु’ हस्ताक्षर तुलमा हस्ताक्षर गरी पुरुषले समेत प्रतिबद्धता जनाए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!