भोज खाएपछि ३५ बिरामी, कोहि रुन थाले, कोहि कराउन थाले

Posted on: 29 Jul, 2018

साउन १३, धादिङ | गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आज ३५ जना बिरामी परेका छन् । 

गाउँकै अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले टेलिफोनबाट राससलाई जानकारी दिनुभयो । 

भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उहाँले जानकारी दिनुभयो । 

न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिं चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए । 

भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी राखिएको थियो । सुगनका रुपमा जाँड र रक्सीसमेत राखिएको वीरसिं चेपाङले बताउनुभयो । 

बिरामीलाई गाउँमै प्राथमिक उपचार गरिरहेको र आवश्यक परेमा अस्पताल लगिने तयारी भइरहेको वडाध्यक्ष सुरेन्द्र चेपाङले जानकारी दिनुभयो । घटनास्थल पृथ्वी राजमार्गको आदमघाटबाट पाँच घण्टाको पैदल दूरीमा पर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!