आँखुमा बगेर बिद्यार्थी बेपत्ता: प्रहरी, जनप्रतिनिधि र स्थानीयलाई अग्रिम जानकारी थिएन

Posted on: 13 Jun, 2019

अनिल अधिकारी | जेठ ३०, काठमाडौँ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया बिपना भुषाल आँखु खोलाले बगाएर बेपत्ता भइन् । यो समाचार तयार पार्दासम्म उनको खोजि कार्यमा प्रहरी लगायत सुरक्षा कर्मी र स्थानीयहरुको प्रयास जारी छ । 

काठमाडौँ स्थित बिपना पढ्ने विनायक कलेजकि एकेडेमी डाइरेक्टर शान्तिदेवी धामीले दिएको जानकारी अनुसार बिपनालाई आँखु खोलाले बगाएको खबर पाएलगत्तै काठमाडौँबाट कलेजका प्रिन्सिपल सहित बिपनाको दाई घटनास्थल पुगिसकेका छन् । बिहिबार काठमाडौँ फर्कने तयारीमा रहेका बिद्यार्थीहरु आँखु खोलामा लुगा धुन र नुहाउन भनी गएका थिए । एक्कासि आँखु खोला उर्लिएर आएपछि भाग्ने क्रममा अन्य ४ जना बासको सहारा पाएर बाच्न सफल भए तर बिपना भने खोलाको भेलसँगै बगिन्  । धामीका अनुसार बिद्यार्थीहरुलाई काठमाडौँ ल्याउन हिजै कलेजले बस पठाईसकेको थियो । उनका अनुसार बिहिबार काठमाडौँ आउने तयारी गरेका बिद्यार्थीहरु आँखुको किनारामा लुगा धुन र नुहाउन गएका थिए । 

आँखु खोला हाइड्रोपावरको लापरवाहीको कारण बिपनालाई खोलाले बगाएको भन्दै धामीले भनिन् 'खोला एक्कासी बढेर आउँछ भन्ने स्थानीयलाई पनि थाहा भएन, थाहा भएको भए बिद्यार्थीले पनि खबर पाउँथे । दिउसोको समय नखोली राति खोलेको भए पनि यसरी मानिसनै बग्ने थिएनन् । यस घटनामा हाइड्रोको चरम लापरवाही छ ।' यस बिषयमा आँखुखोला हाइड्रोका एक अधिकारीले आफूहरुको कुनै लापरवाही नभएको बताए । ति अधिकारीका अनुसार मर्मतको लागि बाँध खोल्नुपर्ने भएकाले २४ घण्टा अघिनै स्थानीय प्रहरीलाई खबर भईसकेको थियो । स्थानीयलाई समेत खबर नगरी ड्याम खोलेको कारण बिद्यार्थी बगेको भन्ने बिषयमा जानकारी माग्दा आँखुखोला हाइड्रोका एक अधिकारी आक्रोश पोखे:- उनीसंगको संवाद यस्तो छ: 

मिडिया: आँखुखोला हाइड्रो हो ? 

हाइड्रोका अधिकारी: हजुर, हजुर 

मिडिया: घटनाको बिषयमा जानकारी दिनुस न !

हाइड्रोका अधिकारी: जे भएको हो त्यहि हो, अरु के छ र ? खासै अरु केहि छैन ।

मिडिया: यस्तो जवाफले भएन नि सर, खोला एक्कासी आउदा मान्छे बग्न सक्छन् । स्थानीयलाई समेत खबर नपाएको भन्ने छ नि !

हाइड्रोका अधिकारी: सबै जानकारी भएको छ, प्रहरीलाई पनि जानकारी दिएको हो, हामीले कुरा त मान्छेपिच्छे आईहाल्छ नि ! 

मिडिया: रातिको समय खोलेको भएपनि हुन्थ्यो होला, दिउसो खोल्नु पर्ने बाध्यता के हुन सक्थ्यो..!

हाइड्रोका अधिकारी: दिउसो काम गर्नुपर्ने राति काम नहुनी ! 

मिडिया: तपाईले यसरी जानकारी दिदै गर्दा त्यहाँ ५ जना बिद्यार्थीलाई खोलाले झन्डै लगेको, त्यसमा एक जना अझै बेपत्ता भएको अवस्था छ । बाँकी ४ जना बासको सहारामा बाचेको भन्ने रिपोरटिङ आएको छ ! 

हाइड्रोका अधिकारी: अब हामीले त्यहाँ गएर देखेको छैन, अब रिपोरटिङ होला नि !

मिडिया: सर, कस्तो जवाफ दिईराख्नु भएको छ तपाइँ, सम्बन्धित निकायको मान्छे त हो तपाइँ ? 

आँखुखोला हाइड्रोको काठमाडौँ स्थित कार्यालयको 01-4429789 मा सम्पर्क गर्दा प्राप्त जवाफ हो यो । हिजोदेखि बिभिन्न मिडियामा आएका समाचारहरुप्रति ति अधिकारी आक्रोशित बनेका रहेछन् । तर ति अधिकारीले दिएको जानकारी पुष्टि गर्न स्थानीय दुई प्रहरी कार्यालयमा सम्पर्क गर्दा हाइड्रोले ड्याम खोल्ने बारे दुवै प्रहरी कार्यालयमा कुनै जानकारी दिएको थिएन । त्यसो त त्यहाको स्थानीय तह त्रिपुरा सुन्दरी गाउँपालिकालाई समेत जानकारी गराइएको थिएन । 

हाइड्रोबाट झन्डै १५ किलोमिटर तल पर्ने (घटनास्थलको नजिक रहेको) सल्यानटार प्रहरी कार्यालयका असई रामु पुरीले बाँध खोल्ने सम्बन्धमा अग्रिम जानकारी आफ्नो कार्यालयले नपाएको बताए । त्यस्तै हाइड्रोबाट झन्डै ८ किलोमिटर तल पर्ने सल्यानकोट प्रहरी चौकीका प्रमुख असई पुरुषोत्तम अधिकारीले पनि खोला बढ्ने बिषयमा कुनै जानकारी नभएको साझा सबाललाई बताए । उनका अनुसार घटना भएपछी मात्र उनले त्यस सम्बन्धमा जानकारी पाएका थिए । उनले भने 'बाँध खोल्नु अघि स्थानीय निकाय तथा प्रहरीलाई जानकारी दिनुपर्ने हो तर त्यसो गरिएन । हामीलाई अग्रिम जानकारी थिएन ।' 

त्यस्तै त्रिपुरा सुन्दरी गाउँपालिकालाई समेत कुनै अग्रिम जानकारी नभएको गाउँपालिकाकि उपाध्यक्ष देवी कुमारी पाण्डे बुर्लाकोटीले बताइन् । उनले भनिन् 'हामीलाई कुनै जानकारी थाहा थिएन ।' उनका अनुसार घटना घटेपछि प्रहरी स्थानीय प्रहरी कार्यालयका प्रहरीहरु र पौडी खेल्न जान्ने मान्छेको सहयोग मागे पछि मात्र घटनाबारे जानकारी भएको थियो । उनले घटना लगत्तै हाइड्रोलाई फोन गरेर स्पष्टीकरण लिएको बताइन । स्थानीय एक वडा सदस्यले ड्यामको लट्ठा चुडिएर पानी बगेको खबर दिएको उनले बताइन् । उनले हाइड्रोसँग दिउसोको बेला खोलामा माछा मार्ने, बालुवा चाल्ने, नुहाउने/लुगा धुने मानिस हुन्छन्, यत्रो आयोजना बनाएपछी कि त साइरन राख्नु पर्छ, त्यसो नभएपनि ठाउँठाउँ गएर मानिसहरुलाई खबर गर्नुपर्छ, किन खबर गर्नु भएन भनेर स्पष्टिकरण सोधेको बताइन् । उनको प्रश्नको जवाफमा हाइड्रोका एक अधिकारीले एक जना प्रहरीलाई जानकारी दिएर ड्याम खोलेको भनेका थिए ।

स्थानीय प्रहरीका अनुसार ५ जना मध्ये एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो । खोजि कार्य अझै जारी छ । खोलामा बगेकी दाङकि बिपना भुषाल काठमाडौँस्थित विनायक कलेजमा अध्ययनरत छात्रा हुन् । प्रयोगात्मक सिकाइको लागि उनि सहित बिद्यार्थीहरु धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए । आँखु खोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्लाका बिभिन्न प्रहरी कार्यालय, स्थानीय तहका जनप्रतिनिधिहरुले भनिरहँदा हाइड्रोले भने जानकारी दिएर खोलेको रटान दिईरहेको छ । स्थानीयहरुले हाइड्रोको मनपरीका कारण आगामी दिनमा पनि यस्ता अप्रिय घटना घट्ने भन्दै कारवाहीको माग गरेका छन् । 

तश्वीरमा: हालसम्म बेपत्ता बिद्यार्थी बिपना भुषाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!