खाडलमा हराइरहेका दुई मजदूरको शव फेला

Posted on: 10 Aug, 2019

साउन २५, धादिङ | खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । 

हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय भीमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैद्धवारले बताउनुभयो । खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर उनीहरुको ज्यान गएपछि आक्रोशित भएका गाउँवासीले सो खोलामा भएका तीन एक्साभेटर जलाएका छन् ।

आक्रोसित गाउँवासीले उचित क्षतिपूर्ति दिनुपर्ने, खोलामा मेसिन हाल्न बन्द गर्नुपर्ने र खोलामा मेसिन लगाउनेलाई कारवाहीको माग गर्दै पदर्शन गरेका छन् । यस वर्षदेखि दरिङ्गाल खोलामा एस्काभेटर लगायतका ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गरेपछि मजदूर विस्थापित भएका थिए । जोखिम मोलेर बालुवा झिक्न गएका बेला उनीहरु गहिरो खाडलमा फसेपछि हराएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!