बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन

Posted on: 13 Aug, 2019

साउन २८ धादिङ । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

 धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् । खोजीकार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो । 

चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताएका छन् ।

वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

गत शुक्रबार मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नंको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ ।

उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । 

खोजीकार्य गर्न हिँडेरमात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!