नागरिक हुन नसकेकी एक वृद्धा

Posted on: 02 Jun, 2020

जेठ २०, धादिङ | यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता हुनुभएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि पाउनुभएको छैन ।

भारती थरकी यी वृद्धाको श्रीमानको एक वर्षअघि मृत्यु भएको र त्यसपछि उहाँको दैनिकी झनै दयनीय बन्दै आएको हो । अहिले उहाँले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आउनुभएको छ । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उहाँको सहारा भएका छन् । उहाँसँग एकसरो लगाउने लुगा मात्र छन् । वर्षात्को पानीले सहज निकास नपाउँदा उहाँले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ । टोलबाट बगेर आएको पानीले उहाँको छाप्रोमा गन्ध आउने गरेको छ । 

सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् । ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ । उहाँले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहनुभएकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाउनुभएको छैन । गरिब परिवारमा रहनुभएकी उहाँकी नन्दले जेनतेन खुवाइरहनुभएको छ । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो । 

सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उहाँको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नगरिकता र अन्य कागज बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!