धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 12 Jun, 2020

जेठ ३०, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ स्थित सुनखानी माविमा क्वारेन्टाइनमा रहेका १२ जना र सोहि गाउँपालिकाको मैदीमा राखिएको क्वारेन्टाइनका १५ जनामा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले ६३ जना पुरुष र ५ महिलाको स्वाब नमुना परीक्षणको लागि पठाएको जनाएको छ । 


माथिको तश्वीर: ज्वालामुखी गाउँपालिका स्थित सुनखानी माविमा राखिएको क्वारेन्टाइनस्थल । तश्वीर: अनिल अधिकारी/सास

गाउँपालिकाको दुवै क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि दुवै क्वारेन्टाइनमा राखिएका तर कोरोना पुष्टि नभएकाहरुले समेत थप समय क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । यसअघि ज्वालामुखी गाउँपालिकाका कसैमा पनि संक्रमण पुष्टि भएको थिएन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धादिङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै धादिङमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ । संक्रमित हुनेमा नेत्रावती डब्जोङ गाउँपालिकामा १, गल्छी गाउँपालिकामा १, थाँक्रे गाउँपालिकामा १, धुनीबेसी नगरपालिकामा १, सिद्धलेक गाउँपालिकामा १, नीलकण्ठ नगरपालिकामा १७, गजुरी गाउँपालिकामा १, त्रिपुरासुन्दरी गाउँपालिकामा ७,  ज्वालामुखी गाउँपालिकाका २७ र धादिङकै बिभिन्न ठाउँका अरु २ जना रहेका छन् । 

देशभर कोरोना संक्रमितको संख्या ५०६२ पुग्यो 

शुक्रबार स्वास्थ्य तथा जनशंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  क्रममा प्राप्त जानकारी अनुसार देशभर कोरोना संक्रमितको संख्या पछिल्ल्लो २४ घण्टामा ४४८ जना पुगेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!