धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

Posted on: 20 Jan, 2018

माघ ६, धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ । 

आज बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रर्दशन तयारी गरे पनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् । प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता दिएको छ । स्थानीय प्रशासनले आज बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो । 


आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि जिल्ला सुरक्षा समिति धनकुटाले सुरक्षाका स्थिति थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो । 

शुक्रबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो भएको जानकारी गराएपछि यता संघर्ष समितिको साँझ बैठकले आमहडताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले सुरक्षा कडा बनाएको जनाएको छ । 

आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, वित्तीय संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्दको घोषणा गरिएको छ । 

स्थानीय प्रशासनले शुक्रबार बेलुका करिब ३०० सवारीसाधन स्कटिङ गरेर कोशी राजमार्गबाट गन्तव्यतर्फ पठाएको जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!