सडक सुधारको माग गर्र्दै धनकुटाका बासिन्दाद्वारा उजुरी

Posted on: 30 Jun, 2018

असार १६, धनकुटा | आवतजावतमा समस्या उत्पन्न भएपछि सडक सुधारको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी गरेका छन् । 

मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड सुधारको माग गर्दै धनकुटाको हिलेदेखि पाख्रिबाससम्मका ४९८ स्थानीयवासीले बिहीबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 

उनीहरुले जिल्ला प्रशासन कार्यालयसँगै सडक डिभिजन कार्यालय धनकुटा, पाख्रिबास नगरपालिका र जिल्ला समन्वय समिति एवं सडक निर्माण डिकुरे साइडको कार्यालयमासमेत उजुरी दिएको जनाएको छ । 

सडक निर्माणको कार्य छिटोभन्दा छिटो सुचारु नभए र गाडी आवतजावत गर्न बाधा पुगेको खण्डमा वाध्य भएर आन्दोलन गर्नुपर्ने उजुरी पत्रमा उल्लेख छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेदेखि पाख्रिबाससम्म पाँच किलोमिटर सडकखण्ड हिलाम्ये हुँदा सवारीसाधन सञ्चालनमा समस्या उत्पन्न भएको छ । निरन्तरको वर्षाका कारण सडक हिलाम्ये बनाउँदा सुनसरीको धरान हुँदै धनकुटाका ग्रामीण क्षेत्रसहित भोजपुर, संखुवासभातर्फ जाने सवारीसाधन र पैदल यात्रुलाईसमेत आवतजावतमा समस्या हुन थालेपछि त्यसको समाधानका लागि उजुरी दिनुपरेको स्थानीय कृष्णबहादुर कटुवालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ पाँच किलोमिटर दूरी पार गर्न १५ मिनेट लाग्ने सडकमा हिलाम्ये भएका कारण सवारीसाधनलाई अहिले दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।” 

सो सडकखण्डको हिलेन्यूरोड छेउदेखि मुगा खोलासम्म र पाख्रिबास फारम गेटदेखि सिंहदेवी मन्दिरसम्मको सडक क्षेत्र हिलाम्ये भएपछि यातायात र पैदलयात्री सबैलाई सास्ती व्योहोर्नु परिरहेको छ । 

हिलेदेखि पञ्चेसम्म करीब १३ किलोमिटर सडक निर्माण गर्ने ठेक्का कञ्चनजंगा मोदीदान रायमाझी जेवीले लिई आव २०७१÷०७२ देखि निर्माण कार्य शुरु गरेको थियो । 

निर्माणकार्य ढिलो गतिमा भएका कारण दैनिकरुपमा भोजपुर संखुवासभा आवतजावत गर्ने लामोदूरीका सवारी सञ्चालनमा कठिनाइ भएको स्थानीय योगेन्द्र लिम्बूले बताउनुभयो । 

पानी पर्ने बित्तिकै सडक हिलाम्ये हुने गर्छ । भोजपुर र संखुवासभा आवतजावत गर्ने दैनिक सयौ गाडी यस सडकखण्डबाट हिँड्ने गर्छ । एउटा गाडी फस्ने बित्तिकै यो सडकखण्डमा सवारीसाधनको लामो लाइन लाग्ने गरेको स्थानीय ज्ञानबहादुर गुरुङले बताउनुभयो । 

करीब रु ३० करोडको लागतमा निर्माणाधीन उक्त सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने सम्झौता छ । अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग पूर्वी खण्ड डिकुरे क्षेत्रका सवइञ्जिनियर विवश अधिकारीले बताउनुभयो । 

निर्माण कम्पनीलाई कामको गति बढाउन पटकपटक ताकेता भए पनि वर्षात् लागिसकेको हुनाले अब नौ महिनामा आयोजना सम्पन्न हुन निकै कठिनाइ हुने अधिकारीको भनाइ छ । 

नेपाली सेनाले २०५२ सालमा हिले–पाख्रिबास–लेगुवाको राम बजारसम्म सडक ट्रयाक खोलेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!