अलैँचीको मूल्य नपाएपछि धनकुटाका किसान निराश

Posted on: 25 Sep, 2017

असोज ९, धनकुटा। अलैँची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । 

यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलँैची हाल प्रतिमन रु ३० हजारदेखि रु ३२ हजारमा बिक्री भइरहेको छ । 

मनग्य आम्दानी हुने देखेर अन्य खेती छोडेर अलैँंची उत्पादनमा लाग्नुभएका महालक्ष्मी नगरका चेतन कार्की मूल्यमा कमी आएपछि निराश बनेका छन् । मूल्यमा अत्यधिक कमी आएपछि थापा र कार्कीजस्तै जिल्लाका ३०० भन्दा बढी किसानले उत्पादन गरेको अलैंँची अहिले घरमै थन्किएको छ । 

विसं २०३७ देखि सामान्य अलैँंचीखेतीमा लाग्नुभएका जिल्लाका किसानले व्यावसायिकरुपमा २०५० देखि यसको खेती शुरु गरेको कार्कीले बताउनुभयो । महालक्ष्मी नगरपालिकाका लेकाली क्षेत्रका जंगलमा अलैँचीखेती पर्याप्तरुपमा गरिँदै आएको छ । अहिले घरको करेसाबारीदेखि रसिला पाखा, खोल्सा अलैंँचीले ढाकेको छ । अलँैंचीको उत्पादन पर्याप्त भएपनि किसानले उचित मूल्य भने पाउन सकेका छैनन् । 

“खेताला खर्च उठाउन निकै कठिन भएको छ,” पाख्रिबास नगरपालिका–२ का ठगेन्द्रबहादुर अधिकारीले भन्नुभयो । केही वर्षयता अत्यधिक खडेरी र विभिन्न प्रकोपका कारण बगान नै सखाप भएको थियो । गत वर्ष रोग किराको संक्रमणसँगै लामो खडेरी व्यहोरेका किसान उत्पादन न्यून भए पनि उचित मूल्य पाएर आम्दानीमा वृद्धि भएपछि उत्साहित बनेका थिए । किसान थप अलैँंचीखेती विस्तारमा लागेका थिए । 

कालो सुनको रुपमा रहेको आम्दानीको मुख्य स्रोत मानिएको अलँैचीको गत वर्ष जिल्लामा रु ३० करोडभन्दा बढीको कारोबार भएको थियो । जिल्लाको २३० हेक्टर जमिनमा लगाइएको अलँैची खेतीबाट १३४ मेक्ट्रिक टनभन्दा बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । 

जिल्लाको पाख्रिबास, महालक्ष्मी, धनकुटा नगरपालिका, छथरजोरपाटी र सागुरीगढी गाउँपालिका क्षेत्र अलैँची उत्पादनको पकेट क्षेत्र हुन् । सिँचाइ अभाव, रोग किरा संक्रमण व्यहोरेका किसान पुनः उत्पादन बढे पनि मूल्य नपाएपछि निराश बनेका छन् । रामसाही, गोलसाही र स्थानीय उन्नत जातका अलैँचीको बिरुवाबाट पर्याप्त आम्दानी हुने गरेको साँगुरीगढी गाउँपालिकाका रामबहादुर राईले बताउनुभयो । 

“चार वर्ष अन्योल भयो, गानो कुहिने, डाँठ कुहिने, छिर्केफुर्केलगायत रोगले अलैँचीखतीमा ह्रास आएको छ,” जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले भन्नुभयो । पूर्वी पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा रहेको अलैँची तराईका जिल्ला तथा भारत, चीन, बंगलादेशलगायत मुलुकमा निकासी हुने गरेको थियो ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!