धनकुटामा चार अर्ब ३५ करोडको तरकारी बिक्री

Posted on: 30 Nov, 2017

मङ्सिर १४, धनकुटा । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । 

सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी, घीउसिमीलगायत तरकारी उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा करिब रु ३० करोड बढीको तरकारी उत्पादन बिक्री भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरत विडारीले जानकारी दिनुभयो । 

बजारको समस्या नभएको र गत वर्षको तुलनामा तरकारी खेतीमा किसानको सङ्ख्या थपिनु एवं तरकारी उत्पादन गर्ने जमिनको क्षेत्रसमेत विस्तार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

बाह्रै महिना तरकारी उत्पादन हुने जिल्लामा गत वर्ष सबैभन्दा बढी रु एक अर्ब २९ लाख ५५ हजार बराबरको गोलभेँडा उत्पादन भएको थियो । कूल एक हजार ४५८ हेक्टरमा ५१ हजार ९७८ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । बाँझिएको जग्गासमेत प्रयोगमा आउन थालेको विडारीले बताउनुभयो । 

जग्गा भाडामा समेत लिएर किसानले खेती गर्न थालेका जोरपाटी गाउँपालिकाका मेघराज खतिवडाले बताउनुभयो । जिल्लामा उत्पादित तरकारी सुनसरीको धरान, मोरङको विराटनगर, झापाको विभिन्न बजार तथा भारतमा लगेर समेत बिक्री गरिँदै आएको छ । जिल्लामा ४० हजार ८२३ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!