धनकुटाका १३ उम्मेदवारको जमानत जफत

Posted on: 15 Dec, 2017

मङ्सिर २९, धनकुटा (रासस) | गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ । 

एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन् । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो । 

जिल्लाको निर्वाचनमा सहभागी भएकामध्ये सबैभन्दा कम मत प्राप्त गर्ने राप्रपाबाट प्रतिनिधिसभातर्फका उम्मेदवारले ३१ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय धनकुटाको तथ्यांकमा रहेको छ । 

जमानत सफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लिम्बुवान लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत उम्मेदवारी दिएका सात दल छन् । निर्वाचनमा जमानत जोगाउन छ हजार ६५५ मत आवश्यक हुने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

जिल्लामा उम्मेदवारी दिएका प्रतिनिधिसभातर्फका उम्मेदवारले रु १० हजार र प्रदेशसभातर्फका उम्मेदवारले रु पाँच हजार धरौटीबापत रकम जम्मा गरेको रकम फिर्ता नपाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो । 

जिल्लामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वाम गठबन्धन र नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले लोकतान्त्रिक गठबन्धन बनाएका थिए । एक प्रदेश र दुई प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा वाम गठबन्धनले एमाले पार्टीबाट सबै क्षेत्रमा र लोकतान्त्रिक गठबन्धनले क्षेत्र बाँडेर एक–एक उम्मेदवार उठाएका थिए । 

निर्वाचनमा जिल्लाका ११ दलका १९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!