सहमतिमा प्रदेशको नामाङ्कन टुङ्ग्याउने: मुख्यमन्त्री राई

Posted on: 27 Sep, 2018

असोज ११, धनकुटा | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताउनुभएको छ । 

आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिन्छ भन्नुभयो । 

सरकारको उद्देश्य प्रदेश नं १ लाई सबल र समृद्ध बनाउने भएकाले दुई तिहाइको बलबाट टुङ्गो लगाउने कसरतमा आफू नलागेको बताउँदै उहाँले चालू प्रदेशसभाबाट नै सहमतिमा नामाङ्कन र राजधानी तोकिने बताउनुभयो । 

प्रदेशको राजधानी कहाँ हुने र नामाङ्कन के हुने भन्ने कुराले प्रदेशको समुन्नतिमा खासै अर्थ नराख्ने भन्दै उहाँले प्रदेश सरकार जिम्मेवार भएर सबै क्षेत्रको विकासमा लाग्ने बताउनुभयो । मुख्यमन्त्री राईले सडक चौडा बनाउने, स्मार्ट सिटीहरु स्थापना गर्ने, औद्योगिक, पर्यटन र कृषि क्षेत्रहरु स्थापना गरी प्रदेशका जनतालाई समृद्ध बनाउने अभियानलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!