यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 

मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित वर्षा हुने उक्त महाशाखाका  मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।  “यस समयमा छोटो अवधिमा भारी वर्षा पनि हुनसक्छ ।” उहाँले भन्नुभयो । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ  मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले  चट्टयाङ्गबाट बच्न सतर्कता अपनाउन आग्र्रह गरेको छ ।  देशको पीश्चमी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी स्थानमा यात्रा गर्दा सर्वसाधारणलाई सचेत रहन पनि अनुरोध गरिएको छ । 

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मङ्गलबार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग पर्नाका साथै वर्षा हुने र पश्चिमी भागका केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि  देशभर आंसिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्याकाको न्युनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!