नेकपाः प्रदेशसभा संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास

Posted on: 08 Oct, 2018

असोज २२, जनकपुरधाम (रासस) | नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । 

समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी छ भन्नुभयो । 

प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सहमति नभए चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिने बताउँदै अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी दिनुभयो । 

यसैबीच जिल्ला तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गरिएको बताइएको छ । कार्यदलमा धनुषा जिल्लाका लागि श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर साह तथा महोत्तरी जिल्लामा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसा ढुङ्गाना रहनुभएको छ । 

त्यस्तै सर्लाही जिल्लाका लागि कमलादेवी महतो, रेवती पन्त र शिवपूजन यादव तथा सिरहा जिल्लाका लागि लीलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशङ्कर नायकलाई कार्यदलमा राखिएको छ । पर्सा जिल्लाका लागि रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव तथा बारा जिल्लाका लागि गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलवीर चौधरी र सुन्दर विश्वकर्मा कार्यदलमा हुनुहुन्छ । 

रौतहट जिल्लाका लागि युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खड्का र कमल यादव तथा सप्तरी जिल्लाका लागि अशोक मण्डल, महेश यादव, रामप्रीत पासवान र गोविन्द न्यौपानेलाई कार्यदलमा राखिएको छ ।

एक प्रश्नको जवाफमा संयोजक साहले पूर्वएमाले र माओवादी दुवै दलबाट पर्ने गरी कार्यदल गठन गरिएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!