प्रदेश २ को बर्खे अधिवेशन जेठ १३ देखि हुने

Posted on: 22 May, 2018

जेठ ८ महेन्द्रनगर, धनुषा | प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो। 

प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ। 

प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरेएको थियो । प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानून निर्माण गर्न ढिलाइ भइरहेकाले जेठ १३ गतेका लागि वर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । वर्खे अधिवेशनको प्रथम बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिनुभयो । 

आगामी अधिवेशनले पहिलो अधिवेशनमा टेबुल भएका विधेयकमाथिको छलफललाई निरन्तरता दिनेछ । उक्त अवधिमा प्रदेश सरकारले पेश गरेका विभिन्न आठ वटा विधेयकमध्ये मात्र दुई वटा विधेयक पारित भएका थिए । 

प्रदेशसभा सचिवालयमा दर्ता रहेका विधेयकमा जिल्ला समन्वय समिति, नगरसभा र गाउँसभाका सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, जिल्ला, नगर र गाउँसभा बैठक सञ्चालनसम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण विधेयक र मन्त्रिपरिषद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक छन् । 

यीबाहेक अन्य सात वटा विधेयकको मस्यौदा सरकारले टुंगो लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!