त्यसपछि खुशी बोकेर फर्किए समिर

Posted on: 10 Jul, 2021

नारायण ढुङ्गाना/अजयकुमार साह, असार २६, धनुषा (रासस) । उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा हुनुहुन्थ्यो ।


सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरिएको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुग्नुभयो । राससमार्फत समाचार सार्वजनिक भयो । मिडियामार्फत जानकारी पाएर प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाउनुभयो ।

असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आउनुभएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गर्नुभएको थियो । त्यसपछि बेगम घर फर्किन सफल हुनुभएको हो । “अनलाइमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको शाक्यले सुनाउनुभयो ।

प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उहाँलाई घर पठाइएको हो । श्रीमती र बच्चा स्याहार्दै गर्दा आज रासससँगको टेलिफोन कुराकानीमा समिरले भन्नुभयो, “मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।”

पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा ति¥यो भन्नेबारेमा ज्ञान छैन । “पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको”, उहाँले कुराकानीका क्रममा थप्नुभयो ।

सुत्केरी बेथा लागेपछि गएको असार १७ गते बेगम अस्पताल भर्ना हुनुभएको थियो । शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मिएपछि असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको तर अस्पताललाई रु एक लाख १० हजार उपचार खर्च बुझाउन नसक्दा चार दिनदेखि उहाँ शय्या छाड्न पाउनुभएको थिएन । 

जन्मेपछि पनि एनआइसीयूमा राखेर नवजात शिशुको उपचार गर्नुपरेकाले उपचार खर्च बढेको अस्पताल प्रशासनको भनाइ छ । उक्त विषयमा राससमार्फत ‘सुत्केरी अस्पतालमा बन्धक ः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको केही घण्टाभित्रै प्रधानमन्त्री पत्नी शाक्यलगायत मनकारीहरूबाट आवश्यक पहल शुरु भएको थियो ।

“तपाईँहरूले मेरो परिवारलाई ठूलो गुन लगाउनुभयो, जिन्दगीमा भुल्दैनौँ, एउटा समाचारले हाम्रो लागि दुनियाँ नै बदलिएको महसुस ग¥यौँ”, अस्पताल परिसरबाट जुम्ल्याहा बच्चासहित श्रीमती लिएर घर फर्कने क्रममा उहाँले भन्नुभयो ।

उहाँले झण्डै ६० देखि ७० हजार तिर्नु नपरेको उहाँले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समिरको न आफ्नो घर छ र न त काम । दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरेका उक्त परिवारलाई धेरै दिन निषेधाज्ञाका कारण काम नपाएर छाक टार्न मुस्किल परेको थियो ।

कोरोना महामारीबाट प्रभावित भइरहेका बेला अस्पतालको उपचार खर्च जुटाउन नसक्दा उहाँमा दोहोरो पीडा थियो । उता समयमै पैसा सङ्कलन नहुँदा अस्पताललाई तिर्नुपर्ने बिल दैनिक बढिरहेको थियो । समिर पैसा खोज्न चन्दा सङ्कलन गर्दैगर्दा उपचार खर्च मिनाहा गर्ने घोषणाले ठूलो राहत मिलेको समिरले सुनाउनुभयो । आफूसँग भएको थोरै पैसा सकेपछि उहाँ चन्दा सङ्कलनमा लाग्नुभएको हो ।

आर्या केयर अस्पतालका व्यवस्थापक उज्वल झाले शुरुमा कुनै जानकारी नभए पनि समाचार आएपछि खोजबिन गर्दा गरीब परिवारको मान्छे भएर पैसा मिनाहा गरेको बताउनुभयो । “आर्थिक अभावमा चन्दा सङ्कलन गरिरहेको थाहा पाएँ, अनि लागेको खर्च छुट गरेर, घर पठाएका हौँ”, उहाँले भन्नुभयो । अस्पतालले समाजिक उत्तरादायित्व बहन गर्दै छुट गरेको जनाएको छ । बेगमले आवश्यक सहयोग प्राप्त हुँदा ठूलो खुशी मिलेको सुनाउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!