प्रदेश नं २ को उपसभामुखमा देव निर्वाचित

Posted on: 16 Feb, 2018

फागुन ४, जनकपुरधाम | प्रदेश नं २ को प्रदेशसभा उपसभामुखमा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उपमाकुमारी देव आज निर्विरोध निर्वाचित हुनुभएको छ । 

उहाँ सप्तरी जिल्लाबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा उपसभामुखमा एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले प्रदेशसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ को उपधारा (१) बमोजिम उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । 

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो गरी अपराह्न १:४५ बजे शुरू भएको बैठक २:०० बजेसम्म बसेको थियो । बैठकमा फोरमका ज्ञानेन्द्रकुमार यादवले प्रदशसभा सदस्य देवलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दा राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य सुरिताकुमारी साहले समर्थन गर्नुभएको थियो । 

यसअघि सभामुख यादवले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त मुख्यमन्त्रीमा लालबाबु राउतलाई नियुक्ति तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको अर्कौ बैठक शनिबार बिहान ११ बजे बस्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!