प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

Posted on: 23 Apr, 2018

वैशाख १० धनुषा | संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । 

प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिने निर्णय गरेको दाहालले बताउनुभयो । 

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । 

मधेश आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइने बताइएको छ । 

प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करीब दुई साता बितिसक्दा पनि संघीय सरकार मातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन । कुनै पनि कानून वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको विभागमा प्रकाशित गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौँ पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!