सीताराम महोत्सव मङ्सिर तेस्रो हप्ता

Posted on: 20 Nov, 2016

मङ्सिर ५, जनकपुरधाम । यही मङ्सिर १४ देखि २० गतेसम्म यहाँ सीताराम विवाह महोत्सव मनाइने भएको छ । 

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । 

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा नै हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुुने गरेका छन् । मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएका कारण पनि सीताराम विवाह महोत्सवमा प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । 

जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार महोत्सव अन्तर्गत १४ गते जनकपुर दर्शन, १५ गते फूलबारी लीला, १६ गते धनुषयज्ञ, १७ गते तिलकोत्सव, १८ गते मटकोर, १९ गते शुभविवाह र २० गते रामकलेवाको कार्यक्रम छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!