धनुषामा बलात्कारपश्चात् १२ वर्षीया बालिकाको हत्या

Posted on: 16 Aug, 2017

साउन ३२, धनुषा । जिल्लामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।

जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ ।

आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा बस्दै आएका थिए । घरमा विविकाकी आमा विमलादेवी साह र नौ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् भने बुबा कृष्णदेवको मृत्यु भइसकेको छ । मंगलबार दिउँसो ४ बजे विविकाकी आमा किनमेल गर्न बजार गएको बेला उक्त घटना भएको बताइएको छ ।

दुई दिदिबहिनी घरमा मात्र भएको देखेर रामचन्द्रले बहिनी पुष्पालाई केही किनेर ल्याउ भनेर पसलमा पठाएका थिए । पुष्पाका अनुसार आफू पसलबाट फर्केलगत्तै घरको मूल ढोकामा आउँदा दिदीले चिच्याइरहेकाको आवाज सुनेको बताइन् । पुष्पाले भनिन्, ‘मैले ढोका ढक्ढकाएँ खोल्न भनि चिच्याएँ तर ढोका खोलिएन अनि एकछिन पछि दिदीको आवाज आउन रोकियो ।’

पुष्पाले चिच्याएको सुनेर जम्मा भएका छिमेकीले कोठा खोलेर हेर्दा उनी मृत भेटिएकी थिइन् । प्रहरीले घटनाको प्रकृति मुचुल्कापश्चात् शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ भने रामचन्द्र र उनकी श्रीमती पवितालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रहरीले बलात्कारपश्चात् घाँटी थिचेर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!