धनुषामा एक नवविवाहितालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास

Posted on: 08 Feb, 2018

माघ २५, धनुषा | धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । 

क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । 

हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका छन् । 

हजरा क्षीरेश्वरनाथ नगरपालिका–८ हार्सरका स्थानीयवासी अखिलेश कवारीका छोरा २४ वर्षीय रसिद राइनकी पत्नी हुन् । आगोले जलेको घटना गत शनिबार बिहान ९ बजेको हो । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटी गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारका लागि पठाएको जानकारी प्रहरी निरीक्षक नरेश सिंहले गराउनुभयो । प्रनि सिंहले घटनास्थलबाटै प्रहरीले हजराका पति रसिदलाई पक्राउ गरेको छ । 

माइती पक्षले छोरी हजराको सम्बन्धविच्छेद गर्न नमान्दा घरपरिवारका सबै सदस्य मिली मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएको छ । 

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका पति रसिद, ससुरा ५५ वर्षीय अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । तर प्रहरीले हालसम्म हजराकी पति रसिदबाहेक कसैलाई पक्राउ गरेको छैन । इप्रका महेन्द्रनगरका अनुसार छिमेकले हजरा आफैँले आगो लगाई आत्महत्याको प्रयास गरेकाले उनका पतिलाई मात्र हिरासतमा राखी अनुसन्धान भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!