सय ग्राम सुन र २५ किलो चाँदीसहित २ जना पक्राउ

Posted on: 11 Mar, 2019

फागुन २७, धनुषा – जनकपुरमा २५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन् ।

आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको हो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलनको गरी सार्वजनिक गरेको छ । 

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो  ।

उहाँका अनुसार बरामद भएको सुनको मूल्य ५ लाख २४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १६ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!