बाढी पहिरो प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

Posted on: 16 Jul, 2019

असार ३१, जनकपुर | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याउनुभएको छ । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले उल्लेख गर्नुभयो । 

कमला नदीको बाँधमा कटान हुनसक्नेतर्फ इङ्गित गर्दै उहाँले  सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा उहाँले जोड दिनुभयो । 

प्राकृतिक विपद्मा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उहाँले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागी आ–आफ्ना सामथ्र्य पनि प्रयोग हुनु आवश्यक छ भन्नुभयो ।

मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार  गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको सङ्ख्या बढाउनु जरुरी भएको जानकारी दिनुभयो । एक फरक प्रसङ्गमा उहाँले जनकपुरधाम विमानस्थलमा ‘रिफिल सेन्टर’ साउन १० गतेदेखि सञ्चालन हुने जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!