प्रहरीद्वारा कुटपीटको घटना छानबिन गर्न समिति गठन

Posted on: 30 Aug, 2019

 भदौ १३,जनकपुरधाम । जनकपुरधामको जानकी चोकमा नरिवल बेच्ने एक बालक र भिडियो खिच्ने एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । बिहीबार दिउँसो भएको उक्त घटनालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

समितिमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना हबल्दार र एक जना जवान रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले सामाजिक सञ्जालमा भनिएझैं कुनै प्रहरीले कसैसँग रकम माग नगरेको बताए । उनले ठेलावाला व्यापारी तथा स्थानीय बासिन्दालाई दुर्व्यबहार गर्ने पर्यटक प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पहिचान भइसकेको र विभागीय कारबाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

जानकी मन्दिर परिसरमा रहेका भित्री पसल टहरालाई हटाउन हटाउने क्रममा मन्दिरमा खटिएका पर्यटक प्रहरी र ठेलाबालाबीच विवाद भएको प्रहरीले जनाएको छ । उक्त विवादलाई भिडियो बनाई प्रहरीले पैसा माग्दा नदिएकोले कुटपिट गरेको भनी सामाजिक सञ्जालमा राखेको विषयमा पर्यटक प्रहरी र स्थानीय युवाबीच विवाद भएको थियो ।

त्यही विवादका क्रममा सामान्य धकेलाधकेल भएको प्रहरीको भनाइ छ । यद्यपी नरीवल बेच्ने रोशन चौधरीले आफूसँग रकम मागेको र नदिएपछि प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट बताएका छन् ।बालकलाई कुट्दै गरेको भिडियो खिच्ने स्थानीय सुशील कर्णलाई समेत प्रहरीले कुटेपछि स्थानीयहरु बिहीबार टायर बालेर प्रदर्शन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!