धनुषामा नगरपालिका कार्यालय सार्ने विषयमा झडप हुँदा एकको मृत्यु

Posted on: 05 Sep, 2019

भदौ १९, जनकपुर | कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएकामध्ये  एक जनाको मृत्यु भएको छ | झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीसहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित त्यहाँका स्थानीयले रोकेपछि प्रहरीले लाठीचार्ज गर्दा मण्डलसहित लगभग आधा दर्जन स्थानीय घाइते भएका थिए।

झडपमा परी गम्भीर घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो। त्यसयता उनी अंचल अस्पतालमै उपचाररतः थिए। यता तपेश्वरको मृत्यु भएपछि आक्रोशित बनेका हँसपुरका स्थानीयहरू मेयर मण्डलविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले कुटपिट संलग्न मेयर मण्डललाई कडा कारबाही हुनुपर्ने माग समेत गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!